![]() |
| उत्तरकुमार पराजुली |
दैत्य गुरु शुक्राचार्यको पनि रक्सी खाने लत थियो । साँझको सन्ध्याबन्दनपछि अलिकति तुन्क्याउने गर्थे ।
शुक्राचार्य नीति, ज्योतिष, गणित, विज्ञान, स्वास्थ्य विज्ञान जस्ता विभिन्न विषयमा राम्रो दखल भएका बहुआयामिक गुरु मानिन्छन् । मृत सञ्जीवनी विद्यामा उनी मात्र एक्ला ज्ञाता थिए । देवता र दानवको बेलाबेलामा झगडा भैरहन्थ्यो । दुवै पक्षमा मार्ने मर्ने अवस्था हुन्थ्यो । दानवगुरुको मृत सञ्जीवनी विद्याले दानवहरु ब्यूतन्थे तर देवता पक्षका मरेको मरै हुन्थे । देव पक्षमा सो विद्या कसरी सिक्ने भन्ने ठूलो बहस चल्यो । देवगुरु बृहस्पतिका छोरा कच शुक्राचार्यको चेलो बनेर सो विद्या सिक्ने कुरामा कस्सिए ।
कच शुक्राचार्यका आश्रममा गए । कचले नढाँटीकन आफू आउनाको कारण बताए । कचको निश्छल भोलोभालोपन देखेर शुक्राचार्यले उनको शिष्यत्व स्वीकारे । कचले बिहान साँझ पढ्ने दिउँसो शुक्राचार्यका गाई हेर्ने गर्थे । आफ्ना गुरुकहाँ देवगुरुको छोरो आएर लेखपढ गरेको अन्य दानव शिष्यहरुलाई मन परेको थिएन । कचको आज्ञाकारिता, कर्मनिष्ठ व्यवहारले शुक्राचार्य प्रभावित भएका थिए । बेलामौकामा गुरुले कचको उदाहरण दिन्थे दानव शिष्यहरुलाई । यो कुरा अझ असैह्य हुन्थ्यो दानव शिष्यहरुलाई । एक दिन कच बन गएको बेलामा दानव शिष्यहरु मिलेर कचलाई मारे । अनि स्याल कुकुरलाई ख्वाए ।
साँझ कच आएनन् । शुक्राचार्यकी छोरी देवयानीले कचको खोजी गर्न बुबालाई भनिन् । शुक्राचार्यले ध्यानदृष्टिले हेर्दा त कच मारिएर स्याल कुकुरका पेटमा पुगेको देखे । शुक्राचार्यले सञ्जीवनी विद्या के पढेथे स्याल कुकुरका पेट फोर्दै कचका अङ्गप्रत्यङ्ग जोडिएर जेकाते भए । गुरुको कामले दानव शिष्य हिस्स त परे तर उनको मनको अमर्ख सेलाएन । उनीहरुले फेरि गोप्य सल्लाह गरे । यसरी मारेर जहाँ फाले पनि जनावरलाई खुवाए पनि गुरुले बचाइहाल्छन् । गुरुको साँझमा रक्सी खाने बानी छ । दिउँसो कचलाई मारेर त्यसको खरानी बनाउँ । अनि त्यो खरानी ती गुरुले खाने रक्सीमा घोलेर खुवाउँ । गुरुकै पेटभित्र पु¥याएपछि जीवित गर्ने उपाय नै हुँदैन । एक दिन कच बन गएको बेलामा मारेर पोली खरानी बनाए । अनि सो खरानी गुरुले खाने रक्सीमा घोलेर खुवाए ।
त्यस दिन पनि कच आएनन् । देवयानी कचको खोजका लागि करकर गर्न लागिन् । शुक्राचार्य रक्सीले झुम परेका थिए । आज पनि दैत्यले पक्कै मारे होलान् भनी मृत सञ्जीवनी विद्या पढे शुक्राचार्यले । कच त शुक्राचार्यको पेटमा पो बोले । शुक्राचार्यले भने— बाबु कच तिमी मेरो असल शिष्य हुनुले उसै पनि मेरो सन्तान सरह नै थियौ । अझ मेरै पेटमा आएपछि अरु कुरा भन्नै परेन । अब मैले तिमीलाई मृत सञ्जीवनी विद्या सिकाउँछु । सो सिकिसकेपछि मेरो पेट फोरेर तिमी बाहिर आउनू र त्यै विद्या प्रयोग गरेर मलाई बचाउनू । यो कुरा कचले सहर्ष स्वीकारे र उनी बाहिर आई गुरुलाई बचाए ।
माथिको घटनाले शुक्राचार्यलाई साह्रै ठूलो खेद भयो । गुरुजस्तो उच्च हैसियतको मान्छेले रक्सीको लतका कारण मान्छेको खरानी खाएको समेत होस भएन । अब आइन्दा कोही पनि शिक्षक वा गुरुले रक्सी नखानू । यदि खाएमा मेरोजस्तै मति भ्रष्टको घटना बेहोर्नु पर्नेछ । बुद्धि क्षीण हुनेछ । त्यसपछि शुक्राचार्यले कहिल्यै रक्सी खाएनन् । यसबाट आजका शिक्षकले पनि केही सिकौँला कि ?

धन्यवाद तथा बधाइ छ पराजुली सर । यो लेखको पाठकहरु प्रतिमिनेट ६ जनाले निरन्तर बढेको छ तर यो दर प्रतिमिनेट बढ्दै 7, 8 , हुँदै गएको छ । जानकारीको लागी ।
ReplyDelete