-उत्तरकुमार पराजुली
उत्तरकुमार पराजुली
|
हाम्रो कार्य व्यवहारमा आत्माको बास हृदय (दिल, मुटु) मा हुन्छ भन्ने मान्यता छ । सत्यको नजिक रहेर केही कुरा अभिव्यक्त गर्दा हार्दिक विशेषण थप्ने गरिन्छ हृदयलाई जोडेर । डर, खुसी, दुःख आश्चर्यले भस्कँदा रक्तचापमा तलमाथि भई सबैभन्दा पहिले मुटुको अस्वाभाविक चालको अनुभूति गरिने भएर हुनसक्छ मुटुलाई बाहिरी सूचना प्राप्ति केन्द्रको रूपमा लिने गरिन्छ । वास्तवमा शरीर विज्ञानको अध्ययनले पहिले मष्तिष्कमा सूचना प्राप्त भएर मष्तिष्कको निर्देशनमा आन्तरिक स्राव ग्रन्थीद्वारा उत्पादित स्राव रसको असरले मुटुको चाललाई अस्वाभाविक बनाउँछ भनिन्छ । जसलाई हाम्रो चेतन संयन्त्रले अनुभव गर्छ । मष्तिष्कतिरको अनुभव नहुँदै यो अनुभव हुने हुनाले मुटुको अस्वाभाविक चाल नै पहिलो भएजस्तो हुन पुुग्छ । आफ्नो लाभहानिलाई वास्ता नगरी कोही कसैले बोल्यो भने आत्मा बोलेको भनिन्छ । यसले पनि आत्मालाई भौतिक जगतभन्दा भिन्न, छुट्टै, अलग्गै कुरा हो भन्ने छनक दिन्छ । मरणको समयमा बोलेको बोलीलाई अदालती कारबाहीमा शङ्का नगरी मान्यता दिइनुलाई पनि कार्यव्यवहारमा रहेको आत्माप्रतिको आस्था भन्न सकिन्छ ।
आत्माको सन्दर्भमा कसैलाई भन्नुपर्दा आफूले गरेको गल्ती अरू कसैले थाहा नपाउँदा पनि त्यो गल्ती गरेको तैँले नै हो भनी जुन कुरा मनन भइरहेको हुन्छ त्यही मन्तालाई आत्मा हो भनिन्छ । आफ्नो सुख, आनन्दको लागि गरिएको गर्न नहुने कामको विरुद्ध आफैमा उत्पन्न हुने सोच वा सो सोचको उत्पत्तिस्थल नै आत्मा हो । यसरी हेर्दा व्यक्ति आफैलाई हाँक्ने शास्ता नै आत्मा हो ।
अरूलाई आफूमा देख्ने र आफूलाई अरूमा देख्ने क्षमता आत्मामा हुन्छ । त्यसैले महाभारत बन पर्व अध्याय २०० को श्लोक ११० मा भनिएको छ
आत्मानां विन्दते येन सर्व भूत गुहाशयम् । श्लोकेन यदिवार्धेन क्षीणं तस्य प्रयोजनं ।
(अरू प्राणीको भित्री मनको आशय बुझ्ने हैसियत कुनै आधा श्लोकको अध्ययनबाट मात्रै पनि हुनसक्छ भने अरू पढाइको प्रयोजन समाप्त हुन्छ ।)
यसले व्यक्तिको अध्ययनको महत्वपूर्ण चुरो आत्मबोध हो भन्ने कुरा स्पष्ट पारेको छ । गीताका कैयौँ सन्दर्भमा श्रीकृष्णले आत्माको प्रतिनिधि भएर बोलेका छन् । अध्याय ६ को २९, ३० औँ श्लोकमा भनिएको छ
सर्व भूतस्थमात्मानं सर्व भूतानि चात्मनि । ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शन ।।
यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति । तस्याहं न प्रणस्यामि स च मे न प्रणस्यति ।।
(समदर्शी योगी वा अन्तःकरणवालाले आफूलाई सबै प्राणीमा र सबै प्राणीलाई आफूमा देख्दछन् । जसले मलाई सबै प्राणीमा र सबै प्राणीलाई ममा देख्छ त्यस्तो व्यक्तिदेखि म अदृश्य हुन सक्तिन र ऊ पनि मबाट अदृश्य हुन सक्तैन ।)
यहाँ योगी, समदर्शी अन्तःकरणवाला भनिने व्यक्ति आत्मज्ञानी हो । अनि म भनिएको आत्मा हो । यसले निष्ठापूर्ण दृढ लगावले भिन्न अस्तित्वका वस्तुमा पनि अभिन्न सम्बन्ध स्थापित हुनसक्छ भन्ने कुरा स्पष्ट पारेको छ । जसरी आमाले भन्छिन्— आज मेरो छाती चक्र्यो नानी विरामी पर्छ कि ? दूध चर्के नानी भोकायो कि ? वास्तवमा आत्मज्ञान भनेको व्यक्तिमा समानुभूतियुक्त चिन्तनको विकास हुनु हो । माथिका श्लोकले भन्न खोजेको कुरा पनि समानुभूतिको कुरा हो ।
नीतिज्ञ चाणक्य भन्छन्— पठन्ति चतुरो वेदान्धर्मशात्रान्यनेकस । आत्मानां नैव जानन्ति दर्वि पाक रसोयथा ।।
(जसलाई आत्मबोध हुँदैन उसले अनेक धर्मशास्त्र र चारै वेद जाने पनि त्यसको हैसियत मीठो खानेकुरा चलाउने दाबिलोको भन्दा माथि हुँदैन । अर्थात् जसरी त्यो दाबिलो वा डाडु पनियोलाई स्वादिलो खानेकुरामा डुब्दा पनि त्यसको स्वाद थाहा हुन्न आत्मबोध नहुने पाठकले पनि ज्ञानको स्वाद थाहा पाइरहेको हुन्न ।)
हाम्रा स्थानीय चिन्तकहरूले आत्मचिन्तनका सन्दर्भमा के के भने ?
शशिधर स्वामी (१८०२—१९०४) अर्घाखाँची जिल्लाको अर्घा रजस्थलमा जन्मेका शशिधरले गहन चिन्तनयुक्त पुस्तकहरू र थुप्रै भजन रचना गरेका छन् । उनले रचेको वाणी भजनमा आत्मालाई यसरी अभिव्यक्त गरेका छन् |
गगन मै आवाज है तो झिनिनिनी । कहे सन्त है गुरु ज्ञानी गगन मै आवाज है तो झिनिनिनी ।
( पानीबाट अलग्गिएको नाद स्वर र हृदयाकाशको बीचमा बस्ने पुरुषलाई उनले आत्मा भनी व्याख्या गरेका छन् । यो व्याख्याबाट आत्मालाई अशरीर भएको देखाउन खोजिएको छ ।)
भानुभक्त आचार्य (१८७१— १९२५) रामायणको किष्किन्धा काण्डमा बालीलाई मारेपछि रामले पति वियोगमा परेकी तारालाई सम्झाइ बुझाइ गर्दा कवि भन्छन्—
स्फटिक्ले रातो छु भनीकन सुहावस्त ऊ पनि । सुहावस् यस जीव्ले शरीरसँगमा मर्छु म भनी ।।
माथिका श्लोकमा आत्मालाई जीव भनिएको छ र जीवको असङ्गपन (कहीँ कतै नटाँसिने र उसमा पनि केही नटाँसिने ) र अमर तत्वका उदाहरण स्फटिक लाहाका सङ् धरिकन त दृष्टान्त छ दिनु भनेका छन् ।
हर्कमनि भट्टराई (१९०५—१९८५ ) अर्घाखाँची माझकोट जन्मेका भट्टराईले थुप्र्रै भजन रचना गरेका छन् । उनी राम्रो भजन गायक थिए । हाम्रो आत्मबोधको प्रक्रिया कस्तो छ भन्ने सन्दर्भको एक भजनमा भट्टराई भन्छन्—
गावत ऐसा राम नाम बुझन कोही ।
पैला पैला आफै जन्मिम् वहाँपछि जन्मे जेठा दाइ । बात कहँदा बाबा जन्मे, माई जन्म्नि कन्था लाई ।
बुझन कोही....
ज्ञानको गुदो राम्ररी नपस्दै गर्दा व्यक्तिले म र आफू मात्र भन्ने गर्छ । जब व्यक्तिमा ज्ञान पस्दै जान्छ अनि आफूमा भन्दा अरूमा ज्ञान भएको महसुसस गर्न थाल्छ । तब उसले दाइ जन्मेको वा आफूमाभन्दा अरूमा बढी ज्ञान भएको स्वीकार्छ । चर्चा परिचर्चा हुँदै जाँदा ज्ञानको पुरातनपनतिर डोरिन्छ जहाँ उसले ज्ञानका पिता जन्मेको अनुभूत गर्छ । तर आत्मज्ञान जुन सबै ज्ञानको आमा हो, मूल हो यो त योग साधना ( कन्था लगाउने काम) बाट मात्रै प्राप्त हुन्छ ।
लेखनाथ पौडेल (१९४१— २०२२ ) कवि शिरोमणि लेखनाथ पौडेलले आफ्ना कवितामार्फत् आत्मचेतका थुपै्र सन्देश दिएका छन् । जस्तो
यो छाला हाड मासु, रगतहरू सबै देखिने बाह्य बोक्रो । त्यो बोक्रोभित्र अर्को अलिकति मसिनु प्राण दोस्रै छ बोक्रो ।
तेस्रो त्योभित्र बोक्रो म अझ उसको भित्र आनन्द बोक्रो । बोक्रोको तुच्छ धोक्रो लिइकन म भनी बोल्छु को भित्र खोक्रो ।
यहाँ कविले दृष्यदेखि अदृष्यको क्रममा, सरलदेखि जटिलको क्रममा तहतह वा पत्रपत्रको विभाजन गरेर शरीरमा निराकार आत्माको अस्तित्व स्थापित गरेका छन् । सबैभन्दा बाहिरी तह छाला, हाड, मासु, रगतको पत्र, त्यसपछि भित्र प्राणको तह, यी दुई तह भौतिक पदार्थयुक्त थिए । प्राण भित्र रहेर म भन्ने बोक्रो अभौतिक तह हो । अझ त्यसभित्रको आनन्द तह र यो आनन्द को अनुभूत गर्ने भित्री तह जसले सबै बोक्रहरूको धोक्रो (सबै तहरूको एकीकृत रूप ) लिएर म भनी अर्थात् अपनत्व स्वीकारी बोल्छ । त्यो बोल्ने को हो ? भनी गरेको प्रश्नको जवाफ आत्मा हो, ब्रह्म हो ।