सिकाइ उपलब्धिको कसीमा शैक्षिक समानता.....


- देविराम आचार्य
शिक्षा मन्त्रालयमा विद्यालय निरीक्षक, हाल रुम टु रिड नेपालमा कार्यरत

पृष्ठभूमी :
गरिबी निवारण, दिगो विकास, मानव अधिकारको संरक्षण, लोकतन्त्रको सबलीकरण, सामाजिक न्याय र सामाजिक असमानताहरु न्यूनीकरणका लागि शिक्षा भन्दा शक्तिशाली अर्को साधन हुँदैन भनिन्छ तर हाम्रो विद्यमान शैक्षिक प्रणाली र त्यसबाट उत्पादित जनशक्ति र त्यसको उपलब्धिमा देखिएका भिन्नताले शिक्षाले असमानता घटाइरहेको छ वा बढाइरहेको छ, बहसका पाटाहरू फरक होलान तर शैक्षिक प्रणालीभित्र निकै महत्वका साथ हेरीने र सबैभन्दा बढि महत्वपूर्ण पक्षको रुपमा रहेका विद्यार्थीको सिकाइ उपलब्धिमा देखिएका भिन्नताहरुले असमानतालाई बढाइरहेको कुरा विभिन्न नतिजाबाट स्वीकार गर्न कर लाग्छ ।
बीस वर्ष अगाडिदेखि (नेपाल अधिराज्यको संविधान २०४७ मार्फत) शिक्षा नागरिकको मौलिक हकको रुपमा स्थापित भएको छ । वि.सं. २०४७ सालको राजनीतिक परिवर्तन पश्चात शिक्षाको क्षेत्रमा उल्लेखनीय विकास र विस्तार भएको छ । विद्यालयको सङ्ख्या, विद्यार्थी भर्नादर उल्लेखनीय मात्रामा बढेको छ भने कक्षा दोहोर्‍याउने तथा कक्षा छोडने दरमा पनि उल्लेखनीय सुधार भएको छ । शिक्षाप्रति जनचासो मात्र नभई राजनीतिक चासोको वृद्धि भएको छ । निजी क्षेत्रको सहभागिता र लगानी उल्लेखनीय रहेको छ । निजी क्षेत्र मार्फत बढीरहेको लगानीले शिक्षामा व्यापारीकरण भयो भन्ने चासो र चिन्ता पनि बढ्दै छ । १५ देखि ४५ वर्ष उमेर समूहको साक्षरता दरमा भएको उल्लेखनीय वृद्धिमा पनि औपचारिक शिक्षाको महत्वपूर्ण योगदान रहेको छ । समग्रतामा हेर्ने हो भने शिक्षाको भौतिक विकास र विस्तारमा भएको परिवर्तन उल्लेखनीय छ, तर सँगसँगै शिक्षा मार्फत विद्यार्थीमा हुनुपर्ने अर्थात एउटा विद्यार्थी वर्षभरी विद्यालय गएर सिक्नु पर्ने कुरा कति सिक्छ अथवा कति सिकाइ भएको छ भन्ने सन्दर्भबाट व्याख्या विश्लेषण गरियो भने यसको पक्ष निकै नै कमजोर रहेका केही अध्ययन तथा तथ्यहरुले देखाएका छन् । यसै सन्दर्भमा सिकाइ उपब्धिमा भएका विभिन्न अनुसन्धान र अन्य तथ्याङ्कहरुका आधारमा यो आलेख तयार पारिएको छ ।
एसएलसी परीक्षाको नतिजा विश्लेषण :
नेपालको विद्यालय शिक्षा प्रणालीमा विशेष चर्चा र महत्त्वको विषय थियो प्रवेशिका परीक्षा । अभिभावक, विद्यालय र विद्यार्थी सबैले १० वर्षमा मात्र सिकाइ उपलब्धिको लेखाजोखा हुने गर्दथ्यो, यसको नतिजाबाट । २०७२ सालदेखि यसको प्रमाणपत्रमा अक्षराङ्कन पद्धति लागू भएपश्चात कूल कति विद्यार्थी उत्तीर्ण वा अनुत्तीर्ण भए भन्ने तथ्याङकको अभाव र शिक्षा ऐनको आठौं संशोधनबाट विद्यालय शिक्षाको अन्तिम तह कक्षा १२ भएपछि यसप्रतिको चासो स्वभावत घटने छ । क्षेत्रीय स्तरमा हुने एसएलसी परीक्षामा पनि कति विद्यार्थीले कति GPA प्राप्त गरे भन्ने तथ्याङ्कमात्र हुने हुँदा यसको नतिजाले कम महत्व पाउने देखिन्छ । तथापी विगतका ८२ वर्षमा विद्यालय तहको अन्तिम परीक्षामा भएको उत्तीर्ण अनुत्तीर्णको तथ्याङ्कले हेर्ने हो भने, विभिन्न कारणले गर्दा अबका केही वर्ष पनि हाम्रो शिक्षामा सूधार हुन्छ भन्न सकिदैन, किनकि विगतको जस्तै निरन्तरतामा समग्र शैक्षिक वर्षहरु व्यतित हुने छन् । GPA को आधारमा ११ कक्षा अध्ययन गर्नका लागि योग्य विद्यार्थीको प्रतिशत बढेपनि समग्र सिकाइमा सुधार हुनेछ भन्ने विश्वसनीय आधार अझै तयार भइसकेका छैनन । प्रवेशिका परीक्षाको यो लामो इतिहासमा परीक्षामा सहभागी भएका कूल विद्यार्थीमध्ये सोही वर्ष नियमित रूपमा परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीको प्रतिशत १९९० देखि २००३ सम्म ५० प्रतिशत भन्दा माथि रहेकोमा  २००४ देखि २०६२ सम्म (२००७, २०२१ र २०२५ बाहेक) उतीर्ण प्रतिशत ५० भन्दा कम रहेको छ । सबैभन्दा बढि उत्तीर्ण प्रतिशत १९९८ मा ७७.७८ प्रतिशत थियो भने सबैभन्दा कम २०३८ मा १६.६८ रहेको थियो । ८२ वर्षको नतिजा अध्ययन गर्दा हरेक वर्षको नतिजामा कुनै एकै प्रकारको प्रवृति भेट्न सकिँदैन । एसएलसी नतिजाको आधारमा नेपालको विद्यालय शिक्षाको सिकाइ स्तरमा सुधार भएको छ वा कमजोर भएको छ वा एकै स्तरको छ भन्न सकिने आधार पाइँदैन । विभिन्न वर्षका परीक्षा नतिजा हेर्दा यसमा कुनै पनि प्रकारको प्रवृत्तिहरू )Trends) भेट्न सकिँदैन । दुई अलग  अलग वर्षका नतिजा तुलना गर्दा १९९० र १९९१ तथा २०२९ र २०३० को नतिजामा ०.११ प्रतिशतको मात्र भिन्नता रहेको थियो भने  नतिजा बढेको आधारमा हेर्दा २०१९ को १८.७२ प्रतिशतको नतिजा एकै वर्षमा २१.२८ प्रतिशतले वृद्धि भई २०२० मा उत्तीर्ण प्रतिशत ४० भएको छ । यसैगरी नतिजाको घट्दो क्रममा हेर्दा २०४७ को ४८.४७ प्रतिशतबाट २३.९२ प्रतिशतले घटेर २४.५५ भएको छ । बीस प्रतिशत भन्दा बढी प्रतिशतले नतिजामा आउने परिवर्तनबाट समग्र शैक्षिक प्रणाली अथवा शिक्षण सिकाइ क्रियाकलापमा सुधार भएर सुध्रेको भए निरन्तर हुनुपर्ने हो यस्तो भएको पाइदैन । र यसकै आधारमा के भएको हो भनेर कुनै अनुमान लगाउन सकिँदैनन् । बरु परीक्षा सञ्चालन र प्रश्नपत्रको गुणस्तरले यसमा प्रभाव पारेको हो कि भन्न सकिन्छ । विगत ८२ वर्षमा प्रवेशिका परीक्षाको उत्तीर्ण प्रतिशतलाई पाँच समूहमा विभाजन गरि अध्ययन गर्दा ३० देखि ४० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको तथ्य पाउन सकिन्छहेरौं ग्राफ १ । 
 वि स १९९० देखि २०७१ सम्मको ८२ वर्षको अवधिमा प्रवेशिका परीक्षामा भएको उत्तीर्ण प्रतिशतको दरलार्इ हेर्दा सबैभन्दा धेरै २७ वटा वर्षहरूको नतिजा ३० देखि ४० बीचमा, दोस्रोमा २१ वर्ष ४० देखि ५० को बीचमा, १४ वर्ष ६० भन्दा माथि, १२ वर्ष ३० भन्दा कम र ८ वर्ष ५० देखि ६० को बीचमा रहेको देखिन्छ । यसबाट प्रवेशिका परीक्षाको उत्तीर्ण दर ६० वर्षसम्म ५० भन्दा कम रहेकाले ५० प्रतिशतमा हुने उत्तीर्ण दर नै विद्यालय शिक्षाको प्रगति दर हो भनेर स्विकार्न कर लाग्छ ।
            यसै गरि प्रवेशिका परीक्षामै सिकाइस्तरमा भएको असमानतालाई हेर्ने हो भने, विभिन्न श्रेणीमा परीक्षा उत्तीर्ण गर्ने छात्र र छात्राको, विभिन्न जिल्लाको तथा सामुदायिक र संस्थागत विद्यालयको भिन्नताबाट प्रष्ट हुन सकिन्छ । एउटै पाठ्यक्रमका आधारमा एउटै प्रश्नपत्रबाट मापन गरिएको सिकाइ उपलब्धिमा देखिएको यसप्रकारको असमानता र सिकाइ स्तरको भिन्नताले हाम्रो समग्र शैक्षिक प्रणालीले समाजमा कसरी २ वर्ग सिर्जना गरिरहेको छ भन्ने सहजै बुझ्न सकिन्छ ।
लैङ्गिक समानताको दृष्टिले हेर्दा विद्यालयमा भर्ना भएको आधारमा शिक्षामा लैङ्गिक समानता प्राप्त हुने दिशामा अग्रसर भएको र सबैका लागि शिक्षाले निर्धारण गरेको यो लक्ष्य पुरा हुने भन्ने यान्त्रिक विश्लेषण हुने गरेको छ । तर यस तथ्यलाई सिकाइ उपलब्धिका सन्दर्भबाट हेर्दा यसको वास्तविक अवस्था देख्न सकिन्छ । उदाहरणको लागि एसएलसी परीक्षा २०६९ मा छात्र र छात्राको उत्तीर्ण प्रतिशतमा १०.७६ प्रतिशतको भिन्नता रहेको छ । २०७० मा यो दर अझै बढेर यस्तो भिन्नता ११.१६ पुगेको छ । श्रेणीगत र विद्यालयको प्रकार अनुसार हेर्दा निम्नानुसार देखिन्छ । विशिष्ट श्रेणीमा उत्तीर्ण हुने छात्र र छात्रबीचको भिन्नता सामुदायिक विद्यालयमा ३९.८ प्रतिशत छ भने संस्थागत विद्यालयमा १९.८६ रहेको छ । हेनुहोस तालिका ।
तालिका :  छात्र र छात्राबीचको उत्तीर्ण प्रतिशतको भिन्नता

सामुदायिक
संस्थागत

जम्मा
केटा
केटी
भिन्नता प्रतिशतमा
जम्मा
केटा
केटी
भिन्नता प्रतिशतमा
उत्तीर्ण प्रतिशत
२९.७३
३४.४१
२५.३३
९.०८
८८.४३
८९.१७
८७.४४
१.७३
विशिष्ट श्रेणी
१४१५
९८२
४३३
३९.८
१६६९५
१०००५
६६९०
१९.८६
प्रथम श्रेणी
२७२४८
१६२०३
११०४५
१८.९३
५६३८९
३२१३३
२४२५६
१३.९७
द्वितिय श्रेणी
५६७०४
३०७०९
२५९९५
८.३१
११२३८
६६८३
४५५५
१८.९४
तृतिय श्रेणी
३६५४
२००६
१६४८
९.८
९३
५६
३७
२०.४३
स्रोत : परीक्षा २०७१ ।
सामुदायिक विद्यालयमा छात्र र छात्रको उपलब्धि स्तरको ठूलो भिन्नता विशिष्ट श्रेणीमा रहेको देखिन्छ भने, संस्थागत विद्यालयको भिन्नता तृतीय श्रेणीमा रहेको छ । २०७१ सालको प्रवेशिका परीक्षामा सहभागी छात्राहरूको प्रतिशत नै बढी रहेको थियो तर परीक्षामा उत्तीर्ण हुने प्रतिशतमा भने छात्राहरूको निकै कम रहेको छ । सहभागी भएका विद्यार्थीमध्ये ५३.९४ प्रतिशत छात्र र ४४.९६ (९ प्रतिशतको भिन्नता) प्रतिशत छात्रा मात्र उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणी ल्याउने कुल विद्यार्थी २१ हजार २ सय ४७ जना मध्ये ५८ प्रतिशत छात्र र ४२ प्रतिशत मात्र छात्रा रहेका छन् । यसलाई सामुदायिक र संस्थागत गरी हेर्दा यो भिन्नता अझ ठूलो मात्रामा रहेको देखिन्छ (प.नि.का. २०६९) । २०७२ सालको एसएलसीको नतिजामा पनि यस्तो भिन्नता प्रष्ट देख्न सकिन्छ । GPA लाई वर्गीकरण गर्ने ९ समूहमध्ये माथिल्लो चारवटा समूह छात्राको तुलनामा छात्रहरु धेरै छन् भने तल्लो पाँचवटा समूहमा छात्राहरु धैरै रहेका छन् । यसबाट पनि प्रष्ट हुन सकिन्छ कि सिकाइ उपलब्धिमा लैङ्गिक असामनता बढ्दो छ र यसलाइ कम गर्नु जरुरी छ ।
सामुदायिक र संस्थागत विद्यालयहरुको वीचको भिन्नता अझ पनि डरलाग्दो रुपमा देखिएको छ । वर्गीय, जातीय तथा आर्थिक सामाजिक रुपले सम्पन्न परिवारका बालबालिकाले अध्ययन गर्ने सहरकेन्द्रित संस्थागत विद्यालयहरुको सिकाइ उपलब्धि तथा उत्तीर्ण प्रतिशत र ग्रामीण क्षेत्रमा अधिकांशत गरिब, आर्थिक सामाजिक अवस्था कमजोर भएका निम्नवर्गीय परीवारका बालबालिकाले अध्ययन गर्ने सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा भएको भिन्नताले शैक्षिक असमानता बढाउन अझ मलजल पो गरिरहेको छ कि भन्ने प्रश्न उठ्नु स्वाभाविक पनि हो । विगत १० वर्ष २०६० देखि २०७० सम्मको प्रवेशिका परीक्षाको उत्तीर्ण प्रतिशतको यो ग्राफले यसलाइ प्रष्ट पार्छ ।
स्रोत : परीक्षा २०६९ ।
सिकाइ उपलब्धिका असमानताहरु निकै डरलाग्दो अवस्थामा रहेका छन् । लैङ्गिक दृष्टिमा मात्र होइन, जातजातिगत दृष्टीमा, ग्रामीण र शहरी क्षेत्रका विद्यालयको बीचमा, सामुदायिक र संस्थागत विद्यालयको वीचमा तथा भौगोलिक क्षेत्र, विकास क्षेत्र र जिल्लाहरुमा समेत यस्तो असमानता स्पष्ट देख्न सकिन्छ । शिक्षाले सामाजिक असमानता कम गर्न सहयोग गर्छ भन्दै, शिक्षाको महत्व बुझाइरहँदा सिकाइ उपलब्धिमा देखिएका असमानताहरु निकै डरलाग्दा छन् र यस्तो असमानता अझ बढ्दै जाने संभावना देखिएको छ । जिल्लागत रुपमा एउटा जिल्लाको र अर्को जिल्लाको बीचमा कुनै विषयको औसत सिकाइ उपलब्धिमा ४७ प्रतिशत सम्मको भिन्नता रहेको छ । यस्तो भिन्नता अझ मुख्य विषयहरु नेपाली, अङ्ग्रेजी, गणित, विज्ञानमा बढि रहेको छ । प्रवेशिका परीक्षाको विगतको उत्तीर्ण प्रतिशत तथा यस वर्षको GPA होस् वा सिकाइ उपलब्धिका राष्ट्रिय परीक्षणको नतिजामा यस्तो भिन्नता प्रष्ट देख्न सकिन्छ । जिल्ला अनुसारको प्रवेशिका परीक्षाको विगतको उत्तीर्ण दर तथा उत्तीर्ण श्रेणी र यस वर्षको GPA प्राप्ताङ्कमा देखिएको ५० प्रतिशतभन्दा बढिको भिन्नताले शैक्षिक प्रणालीका असमानताहरुलाई प्रस्टयाउछन् ।
सिकाइ उपलब्धि परीक्षणको नतिजा र यसका असमानताहरु :
सन् २०११ देखि शुरू भएको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षणका नतिजाहरु हेर्ने हो भने कुनै एउटै विषयको सिकाइ उपलब्धिको औसत प्रतिशतमा ५१ प्रतिशत सम्मको भिन्नता रहेको छ । यस्तो भिन्नता मुख्यत गणित, नेपाली विज्ञानजस्ता विषयहरुमा देखिएको छ । यसैगरी सिकाइ उपलब्धिका यस्ता भिन्नताहरु सानो कक्षा (कक्षा ३) मा भन्दा माथिल्लो कक्षा (कक्षा ८) मा बढिरहेको छ, कक्षा ८ को सामाजिकमा भन्दा विज्ञान विषयमा बढी छ भने कक्षा ५ को नेपालीमा भन्दा अङ्ग्रेजीमा बढी छ । समानताको दृष्टीबाट हेर्दा यो अझ गम्भीर विषय हो ।  हेरौ केही भिन्नताहरु :





स्रोत : शैक्षिक गुणस्तर परीक्षण केन्द्र, २०६९,२०७०,२०७१,२०७२
सिकाइ उपलब्धिमा देखिएको असमानता माथि उल्लेख गरे अनुसार जिल्लाहरुमा मात्र नभई जिल्ला भित्र नै शहरी र ग्रामीण क्षेत्रका विद्यालयहरुमा पनि रहेको छ । विभिन्न जातजातिहरुका बीचमा रहेको छ, भौगोलिक क्षेत्र अनुसार विकास क्षेत्र अनुसार पनि यस्ता भिन्नताहरु रहेका छन् । यसका साथै सिकाइका क्षेत्र तल्लो स्तरको सिकाइ (ज्ञानको क्षेत्र) र माथिल्लो स्तरको सिकाइ (विश्लेषण तथा समस्या समाधान) का क्षेत्रमा समेत यस्ता भिन्नताहरु देखिन्छन् । ज्ञानको क्षेत्रमा देखिने भिन्नता सामुदायिक र संस्थागतमा हेर्ने हो भने निकै नै चिन्ताजनक पाइन्छ । सामुदायिक विद्यालयका विद्यार्थीभन्दा संस्थागत विद्यालयमा माथिल्लो स्तरको सिकाइ भएको छ । शैक्षिक गुणस्रत परीक्षण केन्दका सिकाइ उपलब्धि प्रतिवेदनहरुको अध्ययनले यी तथ्यहरु प्रष्ट पारेका छन् ।
विभिन्न वर्षमा गरिएका सिकाइ उपलब्धिका राष्ट्रिय परीक्षणले कक्षा ३, ५ र ८ को समग्र सिकाइ पनि ५० प्रतिशत भन्दा कम भएको देखाएका छन् । हरेक वर्ष गणित विषय सबैभन्दा धेरै विद्यार्थी फेल हुने विषय बन्छ तर सुधारको एजेण्डामा यही विषयले कहिल्यै प्रवेश पाँउदैन् । अङ्ग्रेजी, नेपाली, विज्ञान, सामाजिक जस्ता मुख्य विषयको सिकाइ उपलब्धि पनि ५० प्रतिशत भन्दा कम हुन्छ । दुइ वर्ष पहिलेको अनुसन्धानका अनुसार कक्षा २ का ६५ प्रतिशत बालबालिकाले शुद्धसँग अक्षर उच्चारण गर्न सक्दैनन् । कक्षा १ मा बालविकासको अनुभव लिएर आउने बालबालिकाको सिकाइ प्रभावकारी भएको भन्ने अनुसन्धानका तथ्यमा आधारित भई देशभर बालविकास केन्द्र खोलिएका छन् तर ती अधिकांश कक्षा १ सँग सँगै राखिन्छ, अलग राखिए पनि सहयोगी कार्यकर्तालाई माथिल्ला कक्षाहरुमा पढाउन लगाइन्छ र विषय शिक्षण गरिन्छ, अनि कतिपय सहयोगी कार्यकर्ताले बालविकास केन्द्रमै दिनभर चिच्चाएर क, , र १,२ पढाइरहनु हुन्छ । बालविकासका आधारभूत सिकाइका पक्षहरु ओझेलमा परेका छन् ।
            कक्षामा सिकाउने शैलि परिवर्तन हुन सकेको छैन् । अनुभवि र वरिष्ठ शिक्षकहरु हामीले पढाएका कति विद्यार्थी डाक्टर इञ्जिनियर भए भन्ने उदारहण दिँदै सिकाइको शैलि परिवर्तन गर्न तयार हुनुहुन्न । कतिपय पाका उमेरका शिक्षकरु अब २,४ वर्ष त हो के दुख गर्नु भनेर परिवर्तन हुन आवश्यक देख्नुहुन्न । आर्थिक सामाजिक हैसियत उच्च भएका र टाठावाठा अभिभावकका छोराछोरी निजी विद्यालयमा पढ्छन् । चेतनास्तरको दृष्टिले कमजोर, आर्थिक सामाजिक अवस्था कमजोर र बच्चाको पढाइमा ध्यान दिन नसक्ने अभिभावकका छोराछोरीले सामुदायिक विद्यायलयमा पढ्छन अनि शिक्षकहरु अभिभावकले चासो दिएनन, बोलाउदा आउदैनन भनेर त्यही कमजोर अभिभावकलाई दोष थोपर्नु हुन्छ ।
विद्यालयमा भवन नभएको, फर्निचर नभएको सबैको चासो र चिन्ता हुन्छ, तर कक्षामा पढाइ नभएको, परीक्षामा धेरै विद्यार्थी फेल भएको अथवा धेरै विद्यार्थीको थोरै नम्बर आएको चासो र चिन्ता हुँदैन । प्राथमिक तहका कक्षाहरु सबैभन्दा बढी उपेक्षित र ध्यान नदिने कक्षा हुन्छन् तर त्यही प्राथमिक तहका बच्चा नै भोलिको माध्यमिक तह र सबैको ध्यान जाने एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थी हुन भनेर विर्सिएका हुन्छौ । दश वर्ष पछाडिको विद्यालयको नतिजा दिने अहिलको कक्षा १ हो भन्ने कुरा विर्सदा सम्म माथिल्ला कक्षाको सिकाइ कमजोर नै रहिरहन्छ । पूर्वाधार विकासका दृष्टिले, शैक्षिक अवसरको वृद्धिका दृष्टिले जे जति शैक्षिक विकास भएको छ, सिकाइ र गुणस्तरीयताको दृष्टिले शैक्षिक अवस्थामा ठूलो परिवर्तन र गुणात्मक विकास हुन सकेको छैन ।
निश्कर्ष :
भौतिक सुविधाहरुको न्यायोचित विस्तार, शिक्षक व्यवस्थापन र प्रभावकारी अनुमगन तथा सहायता प्रणालीको सुदृढीकरण गर्दै जवाफदेही र उत्तरदायी शैक्षिक प्रणालीबाट मात्र शैक्षिक उपलब्धिका असमानताहरु कम गर्न सकिन्छ । शिक्षक, प्रधानाध्यापक तथा शिक्षा प्रशासनको कार्यसम्पादनलाई विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा मूल्याङ्कन गर्ने प्रणाली विकास गराउन सकियो भने यो पक्षमा सुधार गर्न सकिन्छ । सिकाइ उपलब्धिका असामनताहरुको न्यूनीकरणका लागि वर्तमान शैक्षिक प्रणाली, पाठ्यक्रम तथा मूल्याङ्कन शिक्षण सिकाइ प्रक्रियामा गुणात्मक परिवर्तन जरुरी छ ।
सन्दर्भ सामग्रीहरु :
शिक्षा मन्त्रालय (२०७०) । शैक्षिक सूचना २०७०, शिक्षा मन्त्रालय, काठमाण्डौँ ।
परीक्षा नियन्त्रण कार्यालय (२०६९, २०७० र २०७१) । परीक्षा, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र (२०६९, २०७०, २०७१, २०७२) । सिकाइ उपलब्धि परीक्षण प्रतिवेदन, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी ।


Share on Google Plus

0 comments:

Post a Comment