अवको क्रान्ति वौद्धिक क्रान्ति.......


डा. प्रमोद ढकाल

डा. प्रमोद ढकाल 
नेपालको आधुनिक राजनीतिक इतिहासमा पटक-पटक क्रान्तकारी युवाहरु उदाउने र अस्ताउने गरेका छन् । उनिहरुले संबत २००० देखि आजसम्म धेरै प्रकारका सशस्त्र र निरस्त्र आन्दोलनहरु पनि छेडे । तर नेपाली समाज सधैँ हालको क्रान्तिकारीको असफलताबाट हार मानेर फेरि अर्को कोहि क्रान्तिकारीको आगमनलाई पर्खेको जस्तो लाग्दछ । क्रान्तिकारिहरुले पुरानो पद्धतिको नकारात्मकतालाई बुझ्न सक्नु तर समय सापेक्ष नयाँ गन्तव्य पस्कन नसक्नु यसको एउटा कारण हुनु पर्छ । समयले नयाँ युद्ध क्षेत्र तोकेको भएर पनि हामी पुरानै ठाउँमा लडिरहँदा सबै क्रान्तिकारिहरुलाई एक सुत्रमा बाँध्न सम्भव नभएको हुन सक्छ ।
म पनि संबत २०३५-३६ ताका तात्कालिन राज्यका विरुद्ध विद्रोह गर्ने र अन्तत: सोचेको परिवर्तन ल्याउन नसकेर यत्र-तत्र बनेका क्रान्तिकारी युवाहरु मध्ये पर्दछु । केहि कालसम्मको असफल प्रयत्न पछि म त्यो क्रान्तिको काम तात्कालिन नेताहरुले नै गरुन भनेर छोडेर आफ्नो बाटो लागेको थिएँ । म अध्ययन र विज्ञानको बाटोमा हिँडछु भनेर सोचि तथा विदेशमा छात्रवृत्तिको सौभाग्य पाई वैज्ञानिक अनुसन्धानको काममा संलग्न हुन पुगेको थिएँ । केहि समय त्यो यात्रामै संतुष्टि पनि लिएको थिएँ । तर पछि लाग्यो कि हामीले नेपालमा विद्याको, अर्थात ज्ञान र सिपको, क्रान्ति गर्न बाँकि छ, त्यो नै सबै क्रान्तिहरुको अन्तिम मैदान हो, त्यसलाई सफल पार्न योगदान दिएर मात्र आफ्नो कर्तव्य पूरा हुनेछ ।
यता मैले छोडेपनि नेपाली युवाहरु क्रन्तिकारी बन्न कहिल्यै छोडेनन् किनकि क्रान्तिकारी हुनु सचेत युवाको एउटा अलिखित धर्म नै हो । अनि हरेक क्रान्तिकारी विद्रोहले नेपालमा धेरै-थोरै परिवर्तन पनि ल्याइ नै रह्यो । हरेक विद्रोहले केहि पदछाप नछोडिकन हराउँदैन भन्ने कुरा यहाँ पनि सावित भैरह्यो । तर क्रान्ति सफल हुन सकेन । किनकि सफल क्रान्ति त्यसलाई भनिन्छ जसले कुनै राज्यसत्ता वा सामाजिक परम्परालाई जबर्जस्त रुपमा फ्याँकेर नयाँ व्यवस्था स्थापित गर्दछ; पुरानो सत्ता वा परम्परा सङ्ग सम्झौता गर्दैन । तर नेपालको प्रत्येक क्रन्तिकारी अभियानले पूरानो सत्तासङ्ग संझौता गर्न बाध्य भयो । सोचेको परिवर्तन दिन सकेन । फेरि तिनै संझौता हुनुका कारण नेपालमा परिवर्तनको क्रममा र युद्धकै क्रममा पनि विश्वका अन्य स्थानका इतिहासमा भएझैँ वा आज पनि मध्यपूर्व आदि देशहरुमा देखिए झैँ अति धेरै मानिसहरु मरेका छैनन्, जुन एक सान्त्वनाको विषय हो । किनकि एउटा मान्छेको जीवन पनि अमुल्य हो तर प्रत्येक क्रान्तिकारी आन्दोलनमा त्यहि अमुल्य जीवनको बलिदानीलाई ठुलो मानिने गर्छ र त्यहि बलिदानी वा रगतमा लतपतिँदै क्रान्तिहरु सफल भएका हुन्छन् । त्यसैले हताहतमा प्राप्त हुने जित-हारलाई केहि हदमा भए पनि थन्काएर आपसमा सम्झौता गर्ने नेपाली परम्परालाई नराम्रो मान्न मिल्दैन ।
आज अतित तर्फ फर्केर हेर्दा मलाई यस्तो लाग्दछ कि यदि हाम्रा क्रान्तिहरु सम्झौतामा नटुङ्गिएर सफलतामा टुङ्गिएको भए पनि हामीले यो देशलाई ठीक दिशामा डोर्याउने कुनै ग्यारेन्टि थिएन । किनकि हामीहरु क्रान्तिकारि त थियौँ तर हामी विश्वमा आएका परिवर्तनका सोचहरुको अघिल्लो दस्ताका विचारहरुबाट नभएर अतितका विचारहरुबाट निर्देशित थियौँ । हामीमा युरोपमा जुन क्रममा परिबर्तन आयो हाम्रो परिवर्तन पनि त्यहि क्रममा आउँछ वा आउनु पर्छ भन्ने सोच थियो । 
कृषिमा आधारित युरोपमा कृषि क्रान्ति भइरहँदा जमिन्दार र भूमिहीन कृषि मजदूरहरु बिच भएको संघर्ष तथा औद्योगिक क्रान्तिका समयमा पुँजिपति र औद्योगिक मजदूर बिच भएको संघर्ष तथा ती क्रान्तिले उत्पादकत्वमा पारेका सकारात्मक प्रभावका कथा पढेका हामीलाई कृषि अर्थतन्त्रको स्वभाविक दोश्रो पाइला औद्योगिक अर्थतन्त्र हो भनेर लागेको थियो । संवत २०३५-३६ ताकाका स्वतन्त्र विश्व र सोभियत भूमिमा छापिने औद्योगिक उन्नतिका तस्विर र लेखहरुबाट प्रभावित भएका हामीहरुमा त्यो औद्योगिकरणको चाह अति तिब्र थियो । औद्योगिक क्रान्तिकै समयमा प्रत्युत्पादित मार्क्सवादले पनि त्यसपछिका अरु क्रान्तिहरुको विश्लेषण गर्ने मौका पाएको थिएन । उता अन्धविश्वसलाई अति तिखो प्रहार गर्दै वैज्ञानिक खोजलाई महत्व दिने भएकै कारणले हाम्रो विचारमा मार्क्सवादभन्दा शिर्ष अन्य कुनै वाद पनि थिएन ।
सामान्यतया करिव १७६० ताका कपडा उत्पादन गर्ने लुम् मा भएको अतुलनीय प्रगतिको समयदेखि लिएर अर्को ६०-७०बर्षको अवधीलाई बेलायतको औद्योगिक क्रान्तिको समय मानिन्छ । यो समयमा बेलायतले पुरानो सामन्ति सत्तालाई खतम पारेर पुँजिवादी सत्ताको बर्चस्व स्थापित गरेको थियो । पाखुराका बलमा आधारित हुँदै हजारौँ बर्ष अधिपत्य जमाएको कृषि समाजको क्रम र दिशालाई यसले बदलिदिएको थियो । मानव बलले गर्ने काम मेसिनले गर्न थाल्नु, वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा सामाजिक लगाव तिब्र हुनु, कृषिबाट भन्दा मेसिनमा आधारित उद्योगबाट धेरै गुना बढि पुँजि जम्मा हुनु, कृषिबाट सामाजिक आकर्षण विस्थापित भएर पानी वा कोइलाबाट चालित मेसिनमा आधारित उद्योगमा केन्द्रित हुनु, गाउँहरु खालि हुँदै गएर शहर भरिँदै जानु यो समयका केहि विशेषताहरु थिए ।
तर युरोपमा औद्योगिक क्रान्तिले वर्चस्व कायम गरेको लामो समय वितेर त्यसको चमक पनि हराइरहेका बेला सम्म पनि नेपालमा कुनै क्रान्ति हुन सकेको थिएन । नेपाली युवाहरुले संबत २००७ (सन् १९५१) मा पहिलो राजनीतिक क्रान्ति छेड्दै गर्दा अमेरिकामा ट्रान्जिस्टरको आविस्कार (सन् १९४७मा) भई डिजिटल क्रान्तिको थालनि भईसकेको थियो । संवत २०१७ (सन् १९६०) मा राजा महेन्द्रले प्रतिक्रान्ति गरेर पंचायती व्यवस्था स्थापना गर्दा फाइवर अप्टिक प्रविधि मार्फत सुचनाको द्रुत प्रवाह र कम्प्युटर भाषाहरुको विकास भइरहेको थियो । संवत २०३५-३६ (सन् १९७८-७९)को समयमा सुपरकम्प्युटरको आविस्कार भइसकेको थियो, ईन्टरनेट प्रविधीको विकास भइसकेको थियो, इन्टरनेटको विश्व्यापि संजालका लागि साझा आचार (प्रोटोकल) बनिरहेको थियो । संबत २०४६को समयमा वेब (वर्ल्ड वाइड वेब) प्रविधीको विकास भइसकेको थियो । संबत २०५२-६२को युद्ध र संबत २०६२-६३को जन-आन्दोलन भइरहँदा डिजिटल क्रान्ति उत्कर्षमा पुगिरहेको थियो र डिजिटल क्रान्तिलाई पनि पछि पार्दै वौद्धिक क्रान्तिको युगको आरम्भ भइरहेको थियो ।
यहाँ थप चर्चा गर्नु अघि यी भिन्न प्रकारका क्रान्ति र तिनले बनाउने अर्थतन्त्रका बारेमा केहि चर्चा गरौँ । एउटा कृषि क्रान्तिले खाद्य पदार्थको मुल्य सस्तो र उत्पादन धेरै बनाएर खानेकुरालाई सबै मानवको पहुँचमा पुग्न सहज पार्छ । उसले कृषिलाई अर्थतन्त्रको प्रमुख हिस्सा हुने सोच राख्दछ । यो समयका क्रान्तिकारिहरुले जमिनमाथि सबैको न्यायिक स्वामित्व वा जमिनको न्यायिक वितरणलाई मूल नारा बनाउँछन् । औद्योगिक क्रान्तिले अन्य उपभोग्य वस्तुहरुको उत्पादन मेसिनको प्रयोगबाट धेरै र सस्तो पारेर सबैले किन्न सक्ने पार्दछ । उसले मेसिनजन्य औद्योगिक उत्पादनले अर्थतन्त्रको मूल हिस्सा ओगट्ने सोच राख्दछ । यो समयका क्रान्तिकारीहरुले उत्पादनका साधनहरु माथि सबैको समान स्वामित्वलाई मूल नारा बनाउँछन् । डिजिटल क्रान्तिले सुचनाको डिजिटाइजेसन (विद्युतीकरण) तथा विद्युतीय भण्डारण, प्रसारण र प्रसंस्करण (प्रोसेसिङ्ग) गर्ने डिजिटल प्रविधिलाई प्रभावकारी बनाएर सुचनालाई सबैले हासिल गर्न सक्ने पार्दछ । यसका अनुयायीले सुचना प्रविधिले अर्थतन्त्रको मुख्य हिस्सा ओगट्छ भन्ने मान्यतामा काम गर्छन् । यो समयका क्रान्तिकारीहरुले सुचना माथि सबैको समान पहूच र अधिकारको नारा उठाउँछन् । वौद्धिक क्रान्तिले मानव ज्ञान तथा वौद्धिक-सिपको उत्पादन र उपभोगलाई अत्यधिक पार्दछ । उसले मानव ज्ञान र वौद्धिक-सिपलाई नै अर्थतन्त्रको मूल हिस्सा मान्दछ । यो समयका क्रान्तिकारीहरुले विद्या (ज्ञान र सिप) आर्जनमा सबैको समान हक तथा अघिकार हासिल गर्ने र समस्त मानव ज्ञानलाई सबैले विना भेदभाव उपभोग गर्ने भन्ने मान्यतालाई महत्व दिन्छन् । शिक्षा, विद्या, ज्ञान र सुचना माथि सबैको समान पहुँच र अधिकारलाई आफ्नो मूल मुद्दा बनाउँछन् ।
हामिकहाँ संबत २००७मा क्रान्तिकारि उभार उठदा नै अमेरिकामा औद्योगिक अर्थतन्त्रभन्दा पनि कामयावि हुने डिजिटल अर्थतन्त्रको विजारोपण भइसकेको थियो भन्ने कुरा नेपाली क्रान्तिकारिहरुलाई थाहा थिएन । तर आज डिजिटल अर्थतन्त्रले विश्वमा धेरै ठूलो अधिपत्य जमाइसकेको देख्दा देख्दै पनि नेपाली राजनीतिमा अरुको त के कुरा समाजवादी र साम्यवादीहरुले समेत पूरानै पुँजिवादी औद्योगिक क्रान्तिको नारा लगाइरहेका छन् । विश्वलाई मेसिनजन्य औद्योगिक उत्पादन दिन चीन-भारत आदि ठुला राष्ट्रहरुनै समर्थ भएको र लागिपरेको अवस्थामा पनि नेपालले उनिहरुकै ठाउँमा प्रवेश खोजिरहेको छ । क्रमभङ्गताको कुरा गर्ने क्रान्तिकारीहरुले नै आज वौद्धिक क्रान्ति गर्ने समयमा कृषि क्रान्ति र औद्योगिक क्रान्तिको कुरा गरिरहेका छन् । विश्वमा आएको डिजिटल क्रान्तिको उभारले नेपालका गाउँ-गाउँमा समेत आफ्नो प्रभाव देखाइसक्दा पनि डिजिटल क्रान्तिको महत्वलाई पक्डन सकेका छैनन् । पुरै युवा पुस्ता परम्परागत पुस्तकालयहरुमा जान छोडेर आफ्ना जिज्ञाषाहरुको उत्तर डिजिटल मेसिन र इन्टरनेटमा खोजिरहेको समयमा पनि यो देशको नेतृत्वले पुरानै फ्याक्ट्रि र मजदूरवाला अर्थतन्त्र बनाउने घिडघिडो बोकिरहेको लाग्दछ ।
अरुले गरेका क्रान्तिहरुको क्रमबद्ध अनुसरण गर्न हमिलाई कुनै आवस्यक छैन । हामीलाई एकैचोटि अवको विश्व मानवको क्रान्तिको अग्रस्थान जहाँ हो त्यसैलाई हाम्रो क्रान्तिको पनि अग्रस्थान बनाउने सम्पूर्ण छुट छ । युरोपले पार गरेका विकासका कतिपय चरणहरुलाई पछि छोडेर एकैचोटि नयाँ भन्दा नयाँ चरणहरुमा प्रवेश गर्ने अवसर प्रविधिमा भएको रुपान्तरणले हामीलाई समेत जुटाइदिएको छ । तर पनि हामी पुराना भैसकेका क्रान्तिहरुको अनुसरण गर्न ब्यस्त हुँदै नयाँ क्रान्तिका संभावनाहरुलाई पछ्याउनबाट चुकिरहेका छौँ । जमिन, मेसिन, सुचना वा प्रविधी विकासका सहायक मात्रै हुन् र ज्ञान नै अर्थतन्त्रको सबैभन्दा प्रभावशाली सुचालक हो भनेर हाम्रो अन्तस्करणमा गढ्न सकेको छैन । त्यसैले वौद्धिक क्रान्तिलाई सबै क्रान्तिहरुको उत्कर्षका रुपमा आत्मसाथ गर्न हामी चुकिरहेका छौँ ।
एकै परिक्रमामा ठुलो सुरुङ्को पुरै मोहोडा उधार्ने ड्रिलिङ् मेसिनहरु देखि लिएर रक्त नलिमा गएर सल्यचिकित्सा गर्ने शुक्ष्म मेसिनहरु, एक गाउँ मान्छे बोकेर उडने स्वचालित जहाज देखि लिएर आफ्नै करेसाबारिमा प्राङगारिक खेति गर्ने रोवोटहरु वा विरामि र बृद्धबृद्धाको सेवा गर्ने नर्स रोबोटहरु, ब्रह्माण्ड देखि लिएर परमाणुसम्म, के मात्रै कुरामा आज मानवले हात हालेको छैन होला ! तर यि सबै अभियानहरु मानव बुद्धि र ज्ञानका उपज हुन्, वौद्धिक क्रान्तिको समयका सुचक हुन् । अव बलको काम अन्यत्र त समाप्त हुँदै छ नै युद्धमा समेत बलको भन्दा बुद्धि र ज्ञानको आवस्यकता हुन गैरहेको छ । त्यसैले अवका लडाँईहरु हिजो सोचेका र रोजेका लडाँइहरु जस्ता नभै वुद्धि र विचारका लडाँईहरुमा परिणत हुन गैरहेका छन् ।
यस्तो परिवर्तित समयमा आफ्नो संविधानमा नेपाललाई समाजबाद उन्मुख घोषणा गरेका नेपालीहरुले यो कुरालाई आत्मसाथ गर्नु पर्दछ कि अबको मानव समानताको मुख्य युद्धक्षेत्र विद्या हो, अर्थात ज्ञान र सिप हो, न कि जमिन र औद्योगिक उत्पादनका साधन । त्यसैले जमिन वा उत्पादनका अन्य साधनहरुको समान वितरणको माग बोकेर हिँडेका नेपाली समाजवादीहरुले अव विद्यामा सबैलाई समान अवसर दिलाउन लडनु पर्दछ किनकि अबको युगमा विद्यामा र सुचना प्रविधिमा जुन समुदायले प्रभुत्व जमाउने छ उसले नै अर्थतन्त्रमा समेत प्रभुत्व जमाउने छ । त्यसैले अवका समाजवादी आन्दोलनहरुको मुख्य नारा वौद्धिक क्रान्ति हुनु पर्दछ ।
अव कसै सङ्ग धेरै रोपनि जमिन हुनुको महत्व भन्दा विद्या, बौद्धिक सिपहरु, र सुचना प्रविधि र सुचनाहरु माथिको नियन्त्रण र अधिकार हुनुको महत्व कैयौँ गुना बढि हुनेछ । विद्यामा समान अधिकार हुनुको महत्व अन्य कुनै क्षेत्रमा हुने समान अधिकारको भन्दा ठुलो हुनेछ । खुला विद्या प्रणालीको महत्व अन्य कुनै पनि शिक्षा प्रणालीको भन्दा ठूलो हुनेछ । अनि खुला विद्या प्रणालिको सफलातामा सबैको विद्या हासिल गर्ने अधिकार, विद्यार्थिलाई गुरु र प्रत्यक्ष परामर्षको उपलव्धता, सिकाइमा सहायता, शैक्षिक कार्यक्रम उपलव्ध गराउने प्रणालीको छन्दबद्धता, उक्त प्रणालीका बारेमा सम्पूर्ण समाजको घनिष्ट परिचय, उद्यमशीलतालाई शैक्षिक कार्यक्रमको अभिन्न अङ्ग बनाउने, तथा जसलाई आज जे विधाको कार्यक्रम जति मात्रामा अत्यावस्यक छ त्यहि उपलव्ध गराउने संस्थागत क्षमता महत्वपूर्ण हुनेछन् ।
त्यसैले हिजोका सामाजिक विसंगतिहरुका विरुद्ध लडिरहेका अनेकौँ प्रकारका सामजिक आन्दोलनहरु अब शिक्षा, ज्ञान र सिप आर्जनको सर्वोपलव्धता तर्फ केन्द्रित हुनु पर्दछ । गुणस्तरीय शिक्षा, ज्ञान र सिप आर्जनमा सबैलाई समान अवसर दिएर हिजो जात, बर्ग, लिङग, संस्कार आदिका आडमा हुर्केका बन्धन र विभेदहरुको अन्त्य गर्नमा केन्द्रित हुनु पर्दछ । विद्या त्यो हो जसले मानवलाई मुक्ति दिलाउँछ भनेर हिजोका दार्शनिकहरुले भनेको कुरालाई फेरि पनि महत्व दिनु पर्दछ ।

आज विद्या र शिक्षाको क्षेत्रमा यति धेरै नवप्रवर्तन भैरहेका छन् र यति धेरै नवप्रवर्तनहरु गर्ने ठाउँ छ कि छिटै नै खुला विद्याले समाजमा यस्तो अधिपत्य जमाउन सम्भव छ जहाँ आज धनिका छोराछोरीले एकाधिकार जमाएका सबै ज्ञान तथा सिपका क्षेत्रहरु सर्वसाधारणको पहुँचमा हुन् । अनि वौद्धिक क्रान्ति यस्तो प्रकारको क्रान्ति हो जसलाई सफल पार्ने प्रमुख अश्त्र ज्ञान हो । त्यसैले विश्वमा दन्कन गैरहेको वौद्धिक क्रान्तिको आगो यो देशमा पनि बाल्न हामीले अन्य कुनै क्रान्तिको समय आउन्जेल नपर्खेर आजकै समयमा बाल्ने संकल्प गर्नु पर्दछ ।
[डा. प्रमोद ढकाल, गैर-आवासीय नेपाली संघको खुला विश्वविद्यालय कार्यदलका अध्यक्ष तथा नेपाल खुला विश्वविद्यालयको स्थापनामा लागेका एक अभियन्ता हुन् । ]

 [द्रष्टव्य: शिक्षा अर्काले दिएर लिने ज्ञान हो जसमा सिकाईको परिमाण र प्रकृया महत्वपूर्ण मानिन्छ । विद्या आफ्नो स्वप्रयत्नमा तिखारेर लिने ज्ञान तथा सिप हो; यसको प्रारम्भिक लक्ष सांसारिक ज्ञान र सिप हो भने अन्तिम लक्ष मानव मुक्ति हो । विद्यामा सिप हटाउँदा जे बाँकि रहन्छ त्यो ज्ञान हो, चाहे त्यो सांसारिक होस या असांसारिक ।]

-डा. ढकाल गैर आवासीय नेपालीहरुको तर्फबाट नेपालमा खुला विश्वविद्यालय स्थापना गर्नका लागि नेपालमा कार्यरत हुनुहुन्छ ।
Share on Google Plus